काठमाडौं ।काठमाडौं महानगरपालिकाले करमा कडाई गरेको छ ।
कर दाखिला नगर्ने करदाताको भवन, व्यवसाय वा कार्यालयको लेखा, प्रशासन वा सञ्चालन क्षेत्र वा कार्यालय क्षेत्र सिलबन्दी गर्न सक्ने कानुनी व्यवस्था छ लाई आधार मानेर महानगरले कर उठाउन ताकेता गरेको हो । महानगरले कर नतिर्नेहरुलाई पत्राचार गर्दै समयमा कर नतिरे कानुनी कारवाही गर्ने चेतावनी दिएसंगै बिभिन्न संघसंस्थाहरु कर दाखिला गर्न महानगरपालिकाको राजस्व विभागमा पुगेका छन । आर्थिक वर्ष २०४९/०५० देखि अहिले सम्म घरजग्गा/सम्पत्ति कर नतिरेको दुग्ध विकास संस्थानले १ करोड २ लाख ८७ हजार रुपैयाँ सम्पत्ति कर दाखिला गरेको हो । त्यस्तै महानगरले सरकारी स्वामित्वका रहेका १२ वटा व्यवसायिक निकायलाई कर तिर्न पत्राचार गरेको छ । नियमित कर नतिर्नेहरुमाथिको कारवाहीका सन्दर्भमा, महानगरपालिकाको आर्थिक ऐनले गरेको ‘बक्यौता कर असुलीसम्बन्धी व्यवस्था’ बमोजिम असुल गरिने महानगरपालिकाले जनाएको छ । कर संकलन गर्न महानगरपालिकाले सक्रियता देखायसंगै महानगरको राजश्व शाखामा २०८१ माघ ३ गतेसम्ममा ५ अर्ब ५९ करोड ९८ लाख ९३ हजार २९६ रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ आय अनुमान गरिएको छ ।महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को यथार्थ आय १० अर्ब ६४ करोड ६७ लाख ९१ हजार रुपैयाँ थियो ।

