काठमाडौं । कैलाली,झापा,बाँके र चितवनबाट अवैध लागूऔषध सहित ११ जना पक्राउ परेका हुन ।
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका–१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भे.८ प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका–१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय डेक बहादुर थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यस्तै,चितवनको कालिका नगरपालिका–८ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका नगरपालिका–९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेका छन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध चरेश २ सय ४४ ग्राम सहित रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ पक्राउ परेका हुन । नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

