काठमाडौं । तानसेनको सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ । बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक भएर दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा चालक दर्लामीसँगै घाइते भएका १८ वर्षीय छोरा मन्दिपलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यता,सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका हुन ।चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका हुन ।उनीहरुको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको र चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।

