काठमाडौं । बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा आज सिन्दुरे जात्रा मनाइँदैछ ।

हरेक वर्षको शुुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो । बिस्का जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट देव देवताका खट बालकुमारी मन्दिरमा ल्याइन्छ । त्यहाँ सबै खट आइपुगेपछि सिन्दुरेजात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकआपसमा सिन्दूर दलेर नगर परिक्रमा गर्ने परम्परा छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन छ ।

यस्तै,आजै मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाइदैछ । यस वर्षपनि स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदैछन । जात्रामा श्रेष्ठले तेस्रो पटक जिब्रो छेडने भएका हुन् ।जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि व्रत बस्नुपर्छ । नवौँ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०८ वर्षसम्म जिब्रो छेडेको इतिहास छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय