काठमाडौं । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र सङ्घ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू समेत गठन गरिएको छ । यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुने छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकले गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको हो ।प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे । । यस्ता मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरू पटक पटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशन दिए ।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौंउपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहेकाछन ।

