काठमाडौं । निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले आज सभापति शेरवहादुर देउवासंग भेटघाट गरेको छ ।
विधेयकका केही प्रावधानमा असहमति जनाउँदै यु्नियनले आफ्नो सुझाव सभापति देउवालाई बुझाएको हो । अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने, ५८ वर्षबाट ६० वर्ष बनाउँदा क्रमश ६ महिना एक वर्ष र दुई वर्ष गरेर गर्नुपर्ने, एकपटकलाई अन्तर प्रदेश सरुवा खुला गरी आगामी दिनमा सोलाई व्यवस्थित गर्न प्रत्येक प्रदेशले जनसङ्ख्याको आधारमा आफ्नो आवश्यकता अनुसार समावेशी कोटा निर्धारण गर्नुपर्ने,१२ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको एक श्रेणी बढुवा गर्नुपर्ने, उपसचिव तथा सहसचिवको परीक्षा दिँदा साविककै पाँच वर्षे सेवा अवधि लागू गर्नुपर्ने, निजामती कर्मचारीको परिभाषा अन्तर्गत संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समेटी एक आपसमा अन्तरसम्बन्ध कायम गर्नुपर्ने माग युनियनको रहेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेश गर्ने कार्यसूची छ । यही सन्दर्भमा युनियनले विधेयकमा सुधार गर्नुपर्ने विभिन्न मागबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

