काठमाडौं ।चन्द्रागिरि नगरपालिकाकोे बजेट खर्च गत आर्थिक बर्षको तुलनामा कम भएको हो ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्च जम्मा ५४ प्रतिशत भएको हो । गत आर्थिक बर्ष २०८०/८१ मा बजेट खर्च ६१ प्रतिशत भन्दा बढी भएको थियो । गत बर्ष भन्दा करिव ७ प्रतिशत अर्थात करिव २० करोड रुपैयाँ खर्च कम भएको हो । नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ मा २ अर्ब ८१ करोडको बजेट बनाएको थियो । नेपाल सरकार र प्रदेश सरकारको समानीकरण अनुदान,समपुरक अनुदान,बिशेष अनुदान साथै सशर्त अनुदान र राजश्व बाँडफाँडका साथै आन्तरिक श्रोत र स्थानिय तह राजश्व बाँडफाँडलाई आम्दानीको आधार बनाइ बजेट बनाएको हो । तर अपेक्षाकृत आन्तरीक आम्दानी नभएका कारण योजनाका आन्तरीक तर्फका सम्पन्न भएका कैयौं योजनाको भुक्तानी नगरपालिकाले गर्न सकेन । त्यस्ता योजना र भुक्तानीको रकम ५ हजार रुपैयाँ देखि ५० लाख रुपैयाँ सम्मको रहेको जानकारी प्राप्त भएको छ । त्यसोत आर्थिक बर्षको खाता बन्द हुने अन्तिम समयको दुई दिनमा नगरपालिकाले करिव ७ करोड भुक्तानी गरेको भएता पनि उक्त भुक्तानी तलब भत्ता र केहि साना रकमका योजनाहरुको रहेको बुझिएको छ । कस्ता योजनाको कति रकम भुक्तानी हुन बाँकी छ भन्ने बिषयमा केहि दिनमा तथ्य सार्वजनिक हुने सरोकारवाला शाखाले जानकारी दिएको हो । गत आर्थिक बर्ष २०८०/८१ मा पनि करिव १० करोड रुपैयाँको भुक्तानी वख्यौता रहेको थियो ।
बजेट खर्च कम हुनुमा चन्द्रागिरिमा एक वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाको समयमै सम्झौता, काम सम्पन्न र भुक्तानी दिन नगरपालिका गम्भीर बन्न नसक्नु प्रमुख कारण हो साथै वित्तिय व्यवस्थापन दुरुस्त नहुदाँ यस्तो अवस्था आएको हो । अबका दिनमा नगरपालिकाले राजश्वको क्षेत्र बढाउन सकेन वा आन्तरीक आम्दानी थप करिव २५ करोड गर्न सकेन भने यस्तो अवस्थाले निरन्तरता पाउने र समयमा भुक्तानी गर्न नसक्ने समस्या फेरी दोहोरीने अर्थ विश्लेषकहरुले बताएकाछन ।

