काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटमा परम्परा अनुसार मानाउदै आएको झाडिंखः पर्व श्रावण ३ गते शनिबार मनाईदै छ ।
थानकोटमा रहेका किसानहरुले खेतमा धान रोपेर सक्काएपछि आरामको लागि यो पर्व मनाउने प्रचलन रहेको छ । कुनै समय धान खेतीको लागि उर्वर भुमीको रुपमा परिचित थानकोट क्षेत्रमा असार महिनामा धान रोप्न भ्याई नभ्याइ हुन्थ्यो ।एका बिहानै देखि झम्के साँझसम्म खेतमै काम गर्नु पर्ने बाध्यात्मक अवस्थाका कारण घरको सरसफाई समेत गर्न भ्याँइनथ्यो । मेलापर्मका कारण थानकोटका बासिन्दा खेतमै व्यस्त हुन्थे । त्यसैले सबैको खेतमा धान रोपिइसकेपछि एक दिन आराम र आफन्तसंग भेटघाट गर्नका लागि झाडिंखः पर्व मनाउन थालिएको बुझाई छ । झाडिंखः पर्वका लागि कुनै तिथीमिति नहुने र सबैको खेतमा धान रोपिइसकेपछि एउटा बिशेष दिन तोकेर पर्वको रुपमा थानकोटका बासिन्दाले मनाउदै आइएको बताइन्छ ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ ले यस बर्षको झाडिंखः पर्वका लागी श्रावण ३ गते शनिबारको दिनलाई तोकेको हो । थानकोट बासीहरुलाइ हर्ष उल्लासका झाडिंखः पर्व मनाउन सुचना समेत जारी भएको छ ।
यस दिन घरको राम्ररी सरसफाई गर्ने र चेलिबेटी र आफन्त संग भेटघाट र खानपान गरि उत्सवका रुपमा पर्व मनाइन्छ ।यस पर्वलाई सामुहिक निर्णयका प्रतिकको रुपमा पनि चित्रण गर्न सकिन्छ ।

