काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सार्वजनिक जग्गा पहिचानमा कुनै चासो लिएको देखिदैन ।
नगरका १५ वटै वडामा धेरै क्षेत्रफलमा सार्वजनिक जग्गा रहेको भएतापनि नगरको चासो र स्पष्ट निति नहुदाँ अतिक्रमण बढदो छ । पछिल्लो समय नगरपालिकाले स्पष्ट रुपमा देखिएका सार्वजनिक स्थानमा पार्क निमार्णमा तिब्रता दिएको छ । तर यस्ता धेरै क्षेत्रफलमा रहेका कैयौं जग्गाको भने पहिचान समेत हुन सकेको छैन । प्रसंग हो चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित मुखिया गाऊको । उक्त स्थानमा रहेको एैतिहासिक गैह्री कुवा क्षेत्रको । एकातिर सदियौं देखि पानीको राम्रो मुहानको रुपमा परिचित उक्त कुवा क्षेत्रले अहिले सरसफाइ र संरक्षणको अभाव बेहोरीरहेको छ ।उक्त कुवा क्षेत्र, साविक बलम्वु,वडा नम्बर ९’क’कित्ता नम्बर ७८ का रुपमा नापी कार्यालय कलंकीमा उल्लेख गरिएको देखिन्छ ।उक्त जग्गा सार्वजनिक जग्गा भएको एकाथरिको बुझाई रहेको छ भने सदियौं देखि भोगचलन गर्दै आएको भन्दै कुनै दिन पुर्जा बन्छ भन्ने सोचाइमा अर्कोथरि देखिन्छन । सार्वजनिक जग्गा हो भन्ने बुझाइ भएकाहरुले उक्त एैतिहासिक गैह्री कुवा क्षेत्रको संरक्षण र पार्क निर्माण सहित पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले उपभोक्ता समिति निर्माण गरि जग्गा रेखाङ्कन गर्ने प्रकृया अगाडि बढेसंगै बिवाद चुलिएको हो । भोगचलन गर्दै आएकाहरुलाई तपाइहरुको जग्गा भन्ने निस्सा भए देखाउनुहोस भन्दै गर्दा झण्डै हातहालाहालको स्थिती समेत श्रृजना भएको थियो । उक्त स्थानमा धेरैनै सार्वजनिक जग्गा भएको र पहिचान र संरक्षण गर्ने भए सबैतिर गर्नुपर्ने भोगचलन गर्दै आएकाहरुको माग थियो । साथै सोहि क्षेत्रको कित्ता नम्बर ५९ र ४७ को झण्डै ४ रोपनी सार्वजनिक जग्गा समेत प्लटिङ्ग जग्गामा समावेश भइसकेको देखिन्छ । नक्सामा उक्त जग्गा देखिएपनि अहिलेको धरातलमा सो जग्गा कहाँनेर पर्छ भनेर ठम्याउन समेत सकिन्न । यो एक प्रतिनिधी घटना मात्रै हो । नगर क्षेत्रमा यस्ता निस्सा प्रमाण नभएका तर भोगचलन गर्दै आइएका कैयौ जग्गा सार्वजनिक या निजि भन्ने स्पष्ट निति बन्न सकेको छैन । साथै कैयौं क्षेत्रफल सार्वजनिक जग्गा भु–माफियाको बृक्रदृष्टिमा परेका छन ।
नगरपालिकाले नगरक्षेत्रमा भएका सार्वजनिक जग्गाको संरक्षण गर्ने कुरा त परै जावस,पहिचान सम्म पनि गर्न सकेको छैन ।

