काठमाडौं । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल अर्थात् घण्टाकर्ण पर्व चन्द्रागिरि नगरक्षेत्रमा मनाइएको छ ।

चन्द्रागिरि नगर क्षेत्रमा नेवार समुदायको बाहुल्यता भएको बालागाउ,किसिपिडी,बलम्वु,थानकोट,ल्होकोट, टौखेल,सलुंगल,नैकाप,तिनथाना लगायतको क्षेत्रमा गठेमंगल मनाइएको हो । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने प्रचलन छ। छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमंगल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास छ । यस्तै, स्थान एवं कुल परम्पराअनुसार कतै भने गठेमंगललाई खोला वा नदी किनारमा लगेर जलाइन्छ । यसैगरी बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरी केटाकेटीले बाटामा डोरी टाँगेर पैसा माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ। पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ । मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रङ्गाएर पनि राख्ने चलन छ ।

बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ ।घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमंगल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय