काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मंगलबार प्रक्रिया अगाडि बढ्ने भएको छ ।
आज बिहान १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाइने भएको हो । बागमतीको विवाद समाधानका लागि पार्टीको जिम्मेवारी लिएका केन्द्रीय सदस्य राजन केसी आइतबार नै हेटौंडा आएर परामर्श थालेका थिए । मुख्यमन्त्री लामा भने काठमाडौंबाट सोमबार मात्रै हेटौंडा पुगेका हुन ।नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ,लामालाई हटाएर आफू मुख्यमन्त्री बन्ने कसरतमा छन् । मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने विधानतः व्यवस्थाले लामामाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो । हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा २१ जना बहुमत सांसदले लामाविरुद्ध ९ साउनमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध पनि गरिएको छ ।मंगलबार १० बजे अघिसम्म सहमतिको प्रयास खोजिने र सहमति हुन नसके अविश्वास प्रस्तावलाई मतविभाजनबाट आजै टुंगो लगाइने छ ।संसदीय दलको कार्यालयले १० बजेपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सनाखतको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
प्रदेशसभामा कांग्रेसको ३७ सांसद छन् । दलको नेता हुन १९ जना सांसदको समर्थन भए पुग्छ ।

