काठमाडौं । राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजना उद्घाटनका लागि प्रधानमन्त्री के पी शर्मा ओली बिहान आयोजना स्थल पुग्ने छन् ।
प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले लम्कीचुहा नगरपालिका वडा नम्बर ३, चिसापानी कर्णालीमा पुगेर अवलोकन गर्ने र त्यसपछि करिब १० किलोमिटर टाढा रहेको कार्यक्रम स्थल जानकी गाउँपालिका वडा नम्बर ९, कटासेस्थित विद्युत् गृह उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीका साथ ऊर्जा मन्त्री दीपक खड्का पनि उद्घाटनमा सहभागी हुने छन् । रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ । आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४/०७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/०८१ मा सम्पन्न भएको हो ।अद्यावधिक गुरुयोजना अनुसार २०८२ मसान्तसम्म २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँको काम हुनुपर्नेमा २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको (६९.५५ प्रतिशत) काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।पूरा भएको काममा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख रुपियाँ र विश्व बैङ्कको नौ अर्ब ३५ करोड २३ लाख लगानी भएको छ । आयोजनाबाट १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने भने ४.७१ मेगावाटको विद्युत् उत्पादन भएको छ ।लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको छ ।
यसका शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर हुने छ ।

