काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ देखि असोज २ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्ता लिएर विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुगेका छन् । मोदीको निम्तामा प्रधानमन्त्री ओली, यसपटक परम्परागत भ्रमणभन्दा फरक परिदृष्यका साथ भ्रमणमा रहनेछन ।यसपटक दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने भएकाले काठमाडौंबाट सिधै सेनाको हेलिकोप्टरमा जाने तयारी भएको हो । बोधगया नेपालको छिमेकी विहार राज्यमा पर्छ ।यसपटक भारत भ्रमणमा नेपाली सेनाको विशेष विमानबाट जाने तयारी भएको छ ।भ्रमणका लागि आवश्यक अनुमति लिने प्रक्रिया पनि सैनिक मुख्यालयले अघि बढाएको छ ।प्रधानमन्त्री ओली र मोदीबीच गौतम बुद्धले बोधिसत्व प्राप्त गरेको ऐतिहासिक तथा धार्मिक शहर बोधगयाको महाबोधी सांस्कृतिक केन्द्रमा द्विपक्षीय वार्ता तथा सम्झौताहरू हुने तयारी छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले एसियाकै सबैभन्दा प्राचीन नालन्दा विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रम समेत तय भएको छ । मोदीसँग भेटवार्तापछि नालन्दा विश्वविद्यालय भ्रमण गरेर त्यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्नेछन ।
प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल बोधगयाको ह्यात प्यालेस होटलमा रहने छ ।भारतीय विदेश मन्त्रालयले २ दिनका लागि सो होटल बुक गरिसकेको छ ।

