काठमाडौं । हिन्दु महिलाहरूले भाद्र शुक्ल तृतीयाको दिन भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँदैछन् ।

हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ ।

आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ । तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ ।

हरितालिका पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ ।

हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय