काठमाडौं । पूर्वराष्ट्रपति एवं एमाले पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिलाई लक्षित गर्दै पत्र लेखेकी छन् ।

केन्द्रीय कमिटीको साउन ५–६ गते बसेको बैठकको निर्णयको नाममा आफ्नो नवीकरण भइसकेको सदस्यतामाथि प्रश्न उठाइएकाले केही कुरा राख्ने उद्देश्यसहित पत्र लेखेको भण्डारीले उल्लेख गरेकी छन् ।‘त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो ?’, उनको प्रश्न छ । उनले भावुक हुँदै लेखेकी छन्, ‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ। पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु’, भण्डारीको भनाइ छ ।

आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको भन्दै भण्डारीले अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग आफूले कहिल्यै हार नमानेको पत्रमा लेखेकी छन् ।भण्डारीले आफ्नो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन भन्दै यसलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् भनी अनुरोध गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय