काठमाडौं । निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।
विक्रम संवत् २०१२ भदौ २२ गते निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । आज एक कार्यक्रमका बिच गत वर्ष घोषणा गरिएका उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नेछन ।उत्कृष्ट निजामती सेवा पुरस्कार १ लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।
निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिएका छन । प्रधानमन्त्री ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।पछिल्लो दिनमा निजामती सेवाका आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित देखिएकाले यस सेवाप्रति नागरिकको जनविश्वास घट्दै गुनासो सुनिएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सरकारलाई सहय नहुने स्पष्ट पारेका छन् ।व्यावसायिक, पारदर्शी, नवप्रवर्तनशील र नागरिकमैत्री प्रशासन निर्माणका लागि सम्पूर्ण निजामती राष्ट्र सेवकहरुले आ–आफ्नो कर्तव्यलाई जिम्मेवार ढङ्गले निर्वाह गर्नेमा प्रधानमन्त्रीको विश्वास छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने बताएकी छन् ।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य रहेको उनको धारणा छ ।

