काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा आरधना गरिएको हो । किंवदन्तीअनुसार महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एकदिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा रहेको विष्णुदेवी,कालिका मन्दिर, चामुण्डा मन्दिर लगायतका देवी स्थानहरुमा भक्तजनको घुइँचो छ ।

