काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगरसभाको १६ औं अधिवेशनले स्थानीय स्वास्थ्य ऐन –२०८२ सर्वसम्मत पारित गरेको हो ।
नगरपालिकाको प्रशासकीय भवनको सभाहलमा शुक्रबार बसेको नगरसभाको १६ औं अधिवेशनको चौथो बैठकले ऐन पारित गरेको हो ।चन्द्रागिरि नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर १५ का वडाध्यक्ष घनश्याम लुइँटेलले १६ औं नगरसभाको तेश्रो बैठक (साउन २७ गते ) मा ऐनको प्रस्ताव गरेका थिए । आज बसेको नगरसभा बैठकले प्रस्तावित कानूनको विधेयकमाथि छलफल गरी सर्वसम्मत पारित गरेको हो ।
चन्द्रागिरि नगरपालिकाको मौजुदा स्वास्थ्य सेवा ऐन, २०७५ लाई प्रतिस्थापन गरी नेपालको संविधानको धारा २२६ को अनुसूची ९ मा उल्लेखित स्थानीय तहको स्वास्थ्य सम्बन्धि अधिकारलाई कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम चन्द्रागिरि नगरपालिकाको नगरसभाको १६ औं अधिवेशनले विधेयक बनाएको हो । नेपालको संविधानले प्रत्याभुत गरेको नागरिकहरूको नैसर्गिक अधिकार एवम् स्वच्छ, स्वस्थ र गुणस्तरीय स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधि र मापदण्ड तयार पार्न मार्ग प्रशस्त हुने भएकोले प्रस्तावित विधेयक नगरसभाबाट पारित गरेको बिधेयकमा उल्लेख छ ।
१६ परिच्छेद रहेको उक्त विधेयकमा स्वास्थ्य सेवा र सेवा प्रदायक,स्वास्थ्यसंस्था स्थापना तथा संचालन, स्वास्थ्यसंस्थाको अनुगमन र गुणस्तर,जनस्वास्थ्य निरिक्षण र प्रवद्र्धन,स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका बिषय समेटिएका छन । त्यस्तै,औषधी तथा स्वास्थ्य उपकरणको खरिद तथा भण्डारण, वितरण, नियमन,साझेदारी र सहकार्यका बुँदाहरु उल्लेख छन । साथै आकस्मिक स्वास्थ्य सेवा,प्रेषण तथा उपचार प्रणाली,दण्ड जरिवाना र क्षतिपूर्तिका व्यवस्था,स्थानिय जनस्वास्थ्य वोर्ड गठन लगायतका बिषयलाई विधेयकले सम्बोधन गरेको छ ।
नगरको १६ औ अधिवेशनमा चन्द्रागिरि नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा र नगर प्रहरी दरवन्दी सम्बन्धमा छलफल गर्ने कार्य सुची भएपनि चन्द्रागिरि नगरपालिकालाई यहि मंसिर मसान्त सम्म बालश्रममुक्त नगर घोषणा गर्ने सैधान्तिक सहमति भइसकेको छ । नगर प्रहरी दरवन्दी सम्बन्धमा भने आगामी पौषमा बस्ने हिँउदे अधिवेशनले चन्द्रागिरि नगरपालिकाको नगर प्रहरी ऐन २०८२ जारी गर्ने लक्ष्य राखेको छ ।
स्थानीय स्वास्थ्य सम्बन्धी ऐन २०८२ सर्वसम्मतले पारित गरेसंगै नगरको १६ औ अधिवेशन पनि सम्पन्न भएको छ । गत असार १० गते सुरु भएको नगरसभाको १६ औ अधिवेशनको दोश्रो बैठक असार ३२ गते,साउन २७ गते तेश्रो बैठक बसेको थियो । जेनजी आन्दोलनका कारण प्रभावित भएको नगरसभा शुक्रबार चौथो बैठक बसेसंगै १६ औ अधिवेशन सम्पन्न भएको हो ।

