काठमाडौं । चन्द्रागिरि हिल्स प्रा.लिले चन्द्रागिरि डाँडामा पछिल्लो समय विस्तार गर्न लागेको केबुलकार र ब्यान्क्वेट हल निर्माण विवाद परेको छ ।
स्थानीय एक संचार माध्यमले ’चन्द्रागिरि हिल्सको ज्यादती उत्कर्षमा, केबलकार विस्तारका नाममा नियम विपरीत रूख काट्ने तथा डोजर चलाउने कार्य तीव्र’ भन्ने शिर्षकको समाचार सम्प्रेषण गरेसँगै चन्द्रागिरि हिल्सको विरोध हुन थालेको हो ।
समाचारमा भनिएको छ-
“स्थापनाकालदेखि नै विवादमा पर्दै आएको चन्द्रागिरि हिल्सले पछिल्लो समय विस्तार गर्न लागेको केबलकार तथा ब्यान्क्वेट निर्माणको कार्यलाई धमाधम अगाडि बढाइरहेको छ ।बटम स्टेसनदेखि रिसोर्टसम्म थप विस्तार गर्न लागिएको केबलकार निर्माणको करिब ८ करोडको ठेक्का सत्यश्वरी निर्माण कम्पनीले पाएको छ भने ब्यान्क्वेट निर्माणको करिब ६ करोड रुपैयाँको ठेक्का अन्तर्गत धुलिखेल निर्माण कम्पनीले कार्य गरिरहेको छ ।प्रचलित नियम कानुनको खिल्ली उडाएर स्थानीय सरोकारवालाहरूसँग कुनै संवाद नगरि एकतर्फी र जबर्जस्ती हिल्सले अनधिकृत कार्य गरिरहेको भन्दै स्थानीय सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।”
उक्त समाचार प्रकाशित भएसँगै डोजर चलाइरहेको क्षेत्र चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ अन्तर्रगत पर्ने र सरोकारवालासँग कुनै छलफल नगरिकन पहुँचको आधारमा जबर्जस्ति गरिएको भन्दै वडा सदस्यद्वय सबना बानियाँ र रत्न श्रेष्ठले आपत्ति जनाएका छन ।
नगर कार्यपालिका सदस्य समेत रहेकी चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ की वडा सदस्य सबना बानियाँले ‘वडा कार्यालय, वन समिति र वडा बासिन्दासँग कुनै स्विकृति नलिई चन्द्रागिरि हिल्सले आफ्नो मनोमानी ढंगले वडा नं ८ को जंगलमा डोजर चलाई वन फँडानी गरेकोमा म घोर विरोध जनाउँदछु र तत्काल डोजर संचालन रोक्न निर्देशन गर्दछु।’ भनेकी छन ।
त्यस्तै, चन्द्रागिरि नगरपालिकाको न्यायीक समिति सदस्य समेत रहेका वडा नम्बर ८ का वडा सदस्य रत्नलाल श्रेष्ठले ‘चन्द्रागिरि डाडांमा हिल्सबाट रुख बिरुवाहरू फडानी गर्ने, डोजर लगाउने जुन गलत क्रियाकलाप भैरहेको छ चन्द्रागिरी नगरपालिका वडा नं ८ जनप्रतिनिधिको हैसियतले उक्त कार्यको घोर भ्रत्सना गर्दै उक्त गतिविधि तत्काल रोक्न चेतावनी पनि दिन चाहन्छु’ भनेका छन ।
यसरी वडा सदस्यहरूले सामाजिक संजालबाट आफ्नो धारणा व्यक्त गरिरहदाँ वडा नम्बर ८ को औपचारीक धारणा भने सार्वजनिक भएको छैन ।

