काठमाडौं । सरकारले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आउदो फागुन २१ गतेको मिति तय गरेको छ । सोही अनुरूपका तयारीमा सरकार जुटेको छ ।
प्रत्यक्ष तर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा हुने चुनावका लागि दलहरुले पनि आ-आफ्नो किसिमले आन्तरीक तयारी गरिरहेका छन । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् विकसित राजनीतिक परिदृश्यमा स्थापित भएको अन्तरिम सरकारसँग फागुन २१ गते निर्वाचन गराउने एउटै मात्र अर्जुन दृष्टि रहेको छ ।
प्रसङ्ग हो,चन्द्रागिरिका १० वडा,कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाका सबै क्षेत्र समेटिएको काठमाडौं निर्वाचन क्षेत्र नं १० को । फागुन २१ का लागि दलहरूले उम्मेदवारको नाम सिफारिस गरिरहेको अवस्थामा कैयौं निर्वाचन क्षेत्रमा एक्कल नाम सिफारिस भएका छन । कांग्रेसबाट फलानो एकल सिफारिस,नेकपा एमालेबाट तिलानो एकल सिफारिस भन्ने जस्ता समाचारहरू थुप्रै सार्वजनिक भएका छन । यद्यपि, काठमाडौं क्षेत्र नं १० मा भने पार्टीका क्षेत्रीय कमिटिहरूले एकल नाम सिफारिस गर्न सकेनन ।
निर्वाचनका लागि प्रत्यक्ष तर्फ नेकपा एमालेले ११ जनाको नाम सिफारिस गरेको छ भने नेपाली काङ्ग्रेसले ५ जनाको नाम सिफरिस गरेको छ । यो अवस्था हेर्दा दलमा धेरै नेता भएको जस्तो देखिएपनि साझा नेताको खडेरी परेको प्रष्ट देखिन्छ ।
त्यसो त यो अवस्थालाई प्रजातान्त्रिक अभ्यास भनेर दलहरूले बचाउ गर्लान् तथापि, काठमाडौं क्षेत्र नं १० को भौगोलिक संरचनाले पनि साझा नेता स्थापित हुन नसकेको तथ्यलाई नकार्न सकिदैन ।
दलका क्षेत्रीय कमिटी कार्यालय र नेतृत्व यी तीनवटै नगर क्षेत्रमा विस्तार हुन सकेका छैनन मतलब एउटै नगरक्षेत्रमा सबै दलहरूले पार्टी कार्यालय र क्षेत्रीय नेतृत्व स्थापित भएका छन । राजनैतिक चिन्तन, सामाजिक संरचना,मनोगत वस्तुस्थितिको विश्लेषण गरेर पात्र स्थापित गर्नु भन्दा पनि नेतृत्वको दासता र आफुलाई सक्षम बनाउनु भन्दा पनि कृपा प्राप्त गर्नु वा पालो कुरेर बस्ने प्रवृति हावी हुँदा विधि र नीतिगत मुद्दामा प्रष्ट धारणा राख्ने पात्रको अभावका कारण पनि साझा नेता बन्न नसकेको विश्लेषकहरू बताउँछन ।
त्यसो त हामीले पार्टीभित्र सर्वस्विकार्यताको वकालत गर्न खोजेका पक्कै होइनौं र पनि पार्टी दासताबाट मुक्त भएर क्षेत्रगत विकासका मोडालिटी,सामाजिक आर्थिक मुद्दामा उठान गर्न सक्ने,विषयवस्तु र नीतिगत तहमा मुद्दा स्थापित गर्नसक्ने गरि नेताले आफ्नो बृद्धि विकास गर्न नसकेका कारणले पनि साझा र भरपर्दा नेताको कमि भइरहेको देखिन्छ ।
काठमाडौं क्षेत्र नं १० को मतदाताले स्थानिय ,साझा र मुद्दा उठान गर्न सक्ने नेता नपाउँदा आयातित उम्मेदवारहरूले मौकामा चौका हान्नेका दृष्टान्त पनि यस क्षेत्रका मतदाताले व्यहोर्दै आएका छन् ।

