काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल आइतबार साँझ अजरबैजान प्रस्थान गरेकाछन ।
उनी अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेकाहुन ।अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु गएकाहुन ।राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ। सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ। सम्मेलन कात्तिक २६ सुरु भई मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कनेछन ।
राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिले गर्ने कार्यसम्पादनको जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई दिइएको छ । संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गर्नेगरी कार्यभार तोकिएको हो ।

