काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न उद्योग–वाणिज्य प्रवर्धन संवाद परिषद्को बैठकमा उनले सरकार निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गरेका हुन ।प्रधानमन्त्रीले ऐनकानुन सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सहयोग गर्न तत्पर रहेको बताए ।उनले भन्सार र राजस्वमा अनियमिता भएको पाइएका निर्ममताका साथ कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउँदै पूँजी भएर मात्र विकास नहुने भएकाले सम्पत्ति आर्जनका लागि देशको विकास गर्नुपर्ने सोचका साथ लाग्नुपर्नेमा जोड दिए ।परिषद्का सदस्यहरूले सार्वजनिक–निजी साझेदारीमा सहलगानी तथा सहकार्य, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग वृद्धि, व्यापार घाटा कम गर्ने, अध्यादेशहरूको कार्यान्वयन, निर्माण व्यवसाय र आयोजना शीघ्र सम्पन्न गर्ने विषयमा सुझाव दिएका थिए । बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवम् प्रशासनिक सुधारका प्रयासहरू, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभावहरू, विकास निर्माणमा प्रगतिहरू, स्टार्ट अप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो ।
बैठकले उत्पादन, पूर्वाधार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद अन्तर्गतका समिति गठन गर्ने निर्णयगरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषदलाई सुझाव दिनेछन् ।

