काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आर्थिक बर्ष २०८२/८३ को सुरुवाती १५ दिनमा करिव २ करोड राजश्व संकलन भएको छ ।
नगरपालिकाले २०८२ साउन ४ गतेबाट राजश्व संकलन सुरु गरेको थियो । साउन १८ गते सम्म नगरपालिकाले १ करोड ८८ लाख ८२ हजार ३ सय २७ रुपैयाँ राजश्व संकलन गरेको हो । २५ प्रतिशत छुट सहित शुरु भएको राजश्व संकलनका बिभिन्न शिर्षक मध्ये सबैभन्दा बढी सम्पत्ति करमा ६९ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन भएको हो । घर बहाल करमा ३६ लाख ३९ हजार,व्यवसाय करमा २८ लाख ११ हजार,नक्सा पास दस्तुरमा २२ लाख १५ हजार,भुमि तथा मालपोत करमा १० लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै सिफरिस दस्तुरमा १६ लाख २७ हजार,जग्गा बहाल करमा ३ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको हो । नगरपालिकाले बिभिन्न १५ शिर्षकमा राजश्व संकलन गर्दै आएको छ ।
नगरपालिकाले चालु आर्थिक बर्ष २०८२/८३ मा बुझाउनुपर्ने सम्पत्ति कर,भूमिकर,व्यवसाय कर र घरजग्गा बहाल कर आर्थिक बर्षको असोज मसान्त सम्म बुझाएमा करको कुल रकमको २५ प्रतिशत छुट दिएको छ ।त्यस्तै महिलाहरुको नाममा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत र महिला र पुरुषको साझेदारीमा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट दिएको छ । महिला,अपाङ्गता तथा लैङ्गिक अल्पसंख्यक उद्यमीको स्वामित्वमा संचालित घरेलु उद्योग दर्ता सिफरिस दस्तुरमा ५० प्रतिशतको छुट दिइएको छ ।
गत आर्थिक बर्ष २०८१/८२ मा चन्द्रागिरि नगरपालिकाले आन्तरीक तर्फ ६२ करोड ८६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । ३० करोड २९ लाख ९५ हजार ६ सय ६२ रुपैयाँ आन्तरिक र मालपोत रजिष्ट्रेशन मार्फत ३२ करोड ५६ लाख ११ हजार ७ सय १८ रुपैयाँ राजश्व संकलन भएको थियो ।

