काठमाडौं । चितवनमा मंगलबार मनमौजी हिँडेको गैंडाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ ।
रत्ननगर–१६ की ७० वर्षीया कृष्णकुमारी थापा गैंडाको आक्रमणमा परि गम्भीर घाइते भएकी थिइन । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मंगलबार दिउँसो मृत्यु भएको हो ।गैंडाको आक्रमणबाट ७ जना घाइते भएकाछन । चितवनको पूर्वी क्षेत्रमा पर्ने खैरहनी नगरपलिकाको पर्सा बजार नजिकै निस्किएको गैँडाले एकाबिहानै घरमा आगो तापिरहेका खैरहनी १ का ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महतलाई घाइते बनायो ।बिहान गैँडा गाउँ पसेको थाहा पाएपछि ४ वटा हात्ती, निकुञ्ज प्रशासनका टीम र प्रहरीसहित गएको टोलीले दिउँसो १ बजेसम्म लगाएर गाउँ बिचबाट जंगल पठाउने प्रयास गरे ।गैँडालाई निकुञ्ज तर्फ पठाउन नसकेपछि कयरखोलाको माथिल्लो भेगमा रहेको शक्तिखोरतर्फबाट गैडालाई धपाएर जंगल पठाई निकुञ्ज र प्रहरीको टोली फर्कियो ।गैँडा पुनः बस्तीतर्फ पस्यो । बस्ती पसेको गैँडा रत्ननगर नगरपालिकाको १६, १४ र १२ वडामा जहाँ जहाँ मानिस भेटिन्छ हान्दै, गुडिरहेको गाडी समेत पल्टाएर अघि बढ्यो ।गैँडाले आफ्नो बाटोमा भेटिएका जति मान्छेलाई हान्दै अघि बढ्दा रत्ननगर १६ का ७८ वर्षका डम्बर बहादुर थापालाई हान्यो । उनको दाहिने खुट्टामा चोट लागेको छ ।गैँडाले हानेर घाइते हुनेमा रत्ननगर १२ का ७२ वर्षका चेतनाथ चौलागाइको बाँया खुट्टामा र अनुहारमा चोट लागेर भरतपुर अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको छ भने सोही वडाका ३९ वर्षकी सीता पोखरेलको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।त्यसैगरि रत्ननगर नगरपािलका १४ बस्ने बर्ष ६० की मीना गुरुङको बायाँ खुट्टामा चोट लागेको र भने सोही वडाका २५ वर्षका पुजन विकको बायाँ आँखामाथि चोट लागेको छ । उनीहरुदुबै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाउँ गाउँ मनमौजी हिँडेको गैँडा अन्ततः दिउँसो साढे ३ बजे आसपासको समयमा टिकौली जंगलको इकोपार्क कटेर मिलीजुली सामुदायिक वनमा प्रवेश गरेको छ ।

