काठमाडौं । चन्द्रागिरि नगरपालिकाले महिला अधिकारका क्षेत्रमा योगदान पुर्याउने महिलाहरुलाई सम्मान गर्ने भएको छ ।
१ सय १५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर मा लब्धप्रतिष्ठित महिलालाई सम्मान गर्ने कार्यक्रमको लागि नगरले मुलतः ५ वटा क्षेत्रलाई आधार मानेको छ ।महिला अधिकारका क्षेत्रमा कम्तीमा २० बर्षको अनुभव हासिल गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय संयन्त्रमा आबद्ध भएको,सरकारी सेवाको उपसचिव वा सो भन्दा माथिल्लो पदमा कार्यरत वा पदबाट सेवा निबृत कर्मचारी,समाजसेवामा २० बर्ष समर्पित भइ प्रतिष्ठित पद हासिल गरेको,बिद्यावारिधि हासिल गरेको महिला,बिगत ५ बर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गरी कम्तिमा ५ जना महिलालाई रोजगारी प्रदान गरिरहेकी व्यवसायी/ उद्यमी महिलाले लब्धप्रतिष्ठित महिला सम्मानका लागि बिवरण बुझाउन सक्ने चन्द्रागिरि नगरपालिका महिला विकास अधिकृत रश्मी श्रेष्ठले जानकारी दिइन ।हरेक बर्ष मार्च ८ तारिखका दिन दिवस मनाउने गरिन्छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।
सम्मानका लागि नगर क्षेत्रमा स्थायी बसोवास गरेका महिलाहरुले माघ ३ गते सम्म बिवरण बुझाइ सक्नु पर्ने छ ।

