काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु-याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।दिवसका अवसरमा नेपाली सेनाले पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।साथै सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ ।शाहकोे जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताउदै स–साना टुक्रामा छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताए ।
शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहले पु-याउनुभएको योगदानलाई बिर्सन नहुने बताएका छन ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको विविधतामा एकतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पु-याएको बताए ।सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले एउटा महत्वपूर्ण मञ्च प्रदान गरेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बिचमा एकताको उत्सव मनाउन एकता दिवस महत्वपूर्ण अवसर हुने भएको बताउदै उनले भनेका छन –“मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न राष्ट्रिय एकता दिवसले सबैलाई उत्प्रेरित गर्न सक्नु पर्छ ।”

