काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई शनिबार राति पक्राउ गरेको हो ।
भारतको हरियाणाका २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार पक्राउ परेका हुन ।डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेश र अफिम ल्याइरहेको अवस्थामा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डबाट लागूऔषधसहित कार र उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
यसैगरी आइतबार बिहान हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटेबाट लागूऔषध गाँजा १ सय १ किलोसहित वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन रारुत कुर्मी पक्राउ परेका छन । चितवनबाट वीरगन्ज जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय नम्बरको कारमा लुकाएर ल्याएको गाँजा सहित कुर्मी पक्राउ परेका हुन ।

