काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरेका छन ।
गौशलास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकन गर्दै ओलीले चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन । प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायत स्थलको अवलोकन गरेका थिए ।
प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा गरे ।

