काठमाडौं । सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु गरेको छ।
चालु आर्थिक वर्षमा चितवनमा भएका ४०६ वटा दुर्घटनामा ६०७ वटा सवारी साधन दुर्घटनामा परेकामा ३५६ वटा दुईपाङ्ग्रे सवारीसाधन छन् । ती दुर्घटनामा परी जिल्लामा ६३ जनाको मृत्यु भएको छ भने ७१८ जना घाइते भएका छन् । जिल्लामा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये ५८.६७ प्रतिशत मोटरसाइकल हुने गरेको प्रहरी तथ्यांकले देखाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अभियान सुरु गरेको हो । अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाइ ‘शुभ–यात्रा मात्रै नभनी नमस्कार, आरामै हुनुहुन्छ, पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी भएका कारण उक्त दुर्घटना न्यूनीकरणका लागि हामीले तपाईंहरूलाई सुरक्षित यात्राको कामना गर्दै तपाईंहरुको विवरण समेत राख्छौ, कृपया बिस्तारै चलाउनुस्, हेलमेट लगाउनुस्, नशालु पदार्थको सेवन गरेर सवारी नचलाउनु होला, जीवन अमूल्य छ, शुभ यात्रा जस्ता शव्दहरु भन्नेछ ।
ट्राफिक प्रहरीले लामो तथा छोटो दुरीमा यात्रा गर्ने हरेक मोटरसाइकल चालकलाई सडक छेउमा रोकेर यो सन्देश प्रवाह गर्नेछन् । दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने ट्राफिकको बिश्वास रहेको छ ।

