काठमाडौं । काभ्रे जिल्लाका विभिन्न स्थानमा डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मीसहितको प्राविधिक टोली परिचालित भएको छ ।
खानी खोला र बेथाचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत शृङ्खलाको थाम लेक क्षेत्रमा रहेको सामुदायिक वनमा मङ्गलवार देखी लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । भिरालो संरचनामा लागेको डढेलो निभाउन परिचालन हुन समेत कठिन भइरहेको प्रहरीले बताएको छ । थामको लेक क्षेत्रमा लागेको डढेलो बढ्दै गएपछि मानव बस्ती जोगाउनको लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसहितका सुरक्षाकर्मी र प्राविधिक जनशक्ति समेत परिचालन गरिएको हो ।जिल्ला वन सुरक्षा समितिको बिहिबार बसेको बैठकले जोखिममा रहने मानव वस्ती जोगाउन र जोखिम न्यूनीकरणको लागि लागि सुरक्षाकर्मी, वन कर्मचारी, वन समूह परिचालन गर्ने, विभिन्न वन क्षेत्रमा अग्नीरेखा (फायर लाइन) बनाउने निर्णय गरेको थियो । बेथानचोक गाउँपालिकाले एक सूचना जारी गरेर वडा नं ३ स्थित नारायण स्थान क्षेत्र आसपास डढेलो लागेकोले यात्रा नगर्न सचेत गराइसकेको छ ।
भूम्लु गाउँपालिका वडा नं ४ स्थित धारा पानी सामुदायिक वन र वडा नं ६ स्थित चापानीगढी सामुदायिक वनमा लागेको डढेलो भने नियन्त्रणमा आएको छ ।

