काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको ब्रेक थ्रु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो । ब्रेक थ्रु उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बस दुर्घटना हुने, सवारी साधनहरु पहिरोमा पर्ने समस्याबाट नागरिक पीडित भएको समस्या देखेर त्यसलाई अन्त्य गर्न सुरुङ मार्ग बनाउन सुरु गरिएको बताए ।छोटो समयमै सुरुङको ब्रेक थ्रु अवस्थामा ल्याइपु¥याएको भन्दै उनले चिनियाँ निर्माण कम्पनीलाई धन्यवाद दिए । समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल,लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित थिए । ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ । हालसम्म आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ ।
सुरुङमार्ग अन्तर्गत १५१ मिटर लम्बाईको पहिलो बाइपास टनेल गएको असोज ४ मा, १३० मिटर लम्बाइको तेस्रो बाइपास टनेल गएको भदौ २६ मा र १६१ मिटरको दोस्रो बाइपास टनेल गएको पुस ७ गते ब्रेक थ्रु गरिएको थियो ।

