काठमाडौं । धार्मिक तपोभूमि चन्द्रागिरि नगरक्षेत्रमा जगत जननी श्रीस्वस्थानी माता बिराजमान हुनुहुन्छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित बाबा आश्रमको नामले परिचित क्षेत्रमा श्रीस्वस्थानी माताको बिशाल प्रतिमा सहितको मन्दिर रहेको छ । बाबा आश्रम सेवा संस्थाको संरक्षणमा रहेको मन्दिर परिसरमा श्रीस्वस्थानीमाताको मन्दिर संगै श्री सिद्धि गणेश मन्दिर,सन्तानेश्वर,नारायणेश्वर र किराँतेश्वर महादेवको त्रिरुप श्री त्रिरुपेश्वर महादेव मन्दिर,पञ्चकुण्डीय हवन कुण्ड,हनुमान को प्रतिमा लगायतका भौतिक संरचनाहरु रहेकाछन ।

मन्दिर परिसरमा नै रहेको गुरुकुलमा १३ जना वटुक अध्ययनरत छन । मन्दिरमा दैनिक नित्य पुजा हुदै आएको छ । बिहान ५ बजे, साढे १० बजे र बेलुका ६ः३० को समयमा नित्य पुजा हुने गरेको छ ।

त्यसोत धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी माताको ब्रत अहिले जारी रहेको छ ।आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने यो ब्रत सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ । व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ ।

यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ । श्रीस्वस्थानीको व्रत कालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ ।

घुइँचो लाग्ने मन्दिर हरु मध्यको एक चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा रहेको स्वस्थानी मन्दिर पनि हो । यस क्षेत्रमा निर्माण भएका भौतिक संरचनाले नगर क्षेत्रको धार्मीक पर्यटनमा समेत टेवा पुग्ने देखिन्छ यद्धपी यस क्षेत्रमा वडा र नगरपालिकाको भने ध्यान जान सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय