काठमाडौं । आज,फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस ।
सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै आज विविध कार्यक्रम र उल्लाससहित प्रजातन्त्र दिवस मनाइँदै छ । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

