काठमाडौं । आज फाल्गुण शुक्ल पूर्णिमा, रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।होली पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन ।राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।“विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो ।
यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

