काठमाडौं । पछिल्लो समय काटमाडौंमा टिपरका कारण भएको दुर्घटनाले धेरै जनको क्षति हुन थालेको छ । एक सातामानै काठमाडौंमा टिपरका कारण ५ जनाले ज्यान गुमाएका छन ।
शनिबार बिहान साढे ४ बजे काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँ पेट्रोल पम्प अगाडिको सडकमा प्र.३ –०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनामध्ये एक जनाको मृत्यु भयो ।काभ्रेको पनौती नगरपालिका–११ घर भई ललितपुरको धापाखेल बस्ने अन्दाजी २६ वर्षीय सुकराम तामाङको मृत्यु भएको हो ।मोटरसाइकलमा सवार अर्का युवक काभ्रेकै बेथानचोक गा.पा. वडा नं. ०६ बस्ने बर्ष अन्दाजी ३० वर्षका रमेश तामाङको उपचार भइरहेको छ । ठक्कर दिएर फरार भएको टिपर त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो भवन परिसरमा भेटिएको छ ।
यस्तै, शुक्रबार साँझ साढे ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भयो । कागेश्वरी मनोहरा नगरपालिका–१, सानीटारी घर भएका अन्दाजी ३७ वर्षीय अनुज ढकालको मृत्यु भएको हो । बिपी चोकस्थित सडकखण्डमा बा ५ ख ११६८ नम्बरको टिपरले बा १२ च २६९७ नम्बरको बोलेरो गाडीलाई टुचिन लगाएर गोकर्णतर्फ लानेर ल्याउँदै थियो ।त्यसक्रममा बा ४८ प ३६४० नम्बरको मोटरसाइकल टिपरसँग ठोक्किएको थियो ।
त्यस्तै, फागुन २३ गते शुक्रबार बिहान ३ः४० बजे काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्यो । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सलम्बुटारमा २०६२ सालदेखि संचालित आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भयो । बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।

