काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत धम्की दिएर रकम मागेको आरोपमा प्रहरीले ललितपुरबाट एक जना डाक्टरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–१६ घरभई ललितपुर ग्वार्को सानोगाउँ बस्दै आएका ३२ वर्षीय डा.आशिष दाहाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।निजले अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट रहेको भन्दै भारतको बिहारलगायतका ठाउँबाट कन्ट्र्याक किलर लगाई हत्या गरिदिने धम्की दिएर नगद माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
निजले पचास हजारदेखि दुई लाखसम्म रकम माग्ने गरेको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार दाहालले ९७०९७०५२१५ नम्बरको ह्वाट्सएपबाट मेसेज र फोन गरेर धम्की दिने गरेका थिए ।

