काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ ।
पारकिन्सन रोगबाट पीडित राईको शनिबार उपचारकै क्रममा निधन भएको हो । भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित भएर लागेका थिए । राई २०६३ को अन्तरिम व्यवस्थापिकामा माओवादीबाट सांसद भएपछि भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए । राज्यमन्त्रीकै हैसियतमा उनी पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेका थिए।तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा लागे ।
वैद्यको पार्टी पनि विभाजित हुँदा उनी नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा गए। तर विप्लवको पार्टीमाथि प्रतिबन्ध लागेपछि राई २०७६ मा तत्कालीन नेकपा हुँदै माओवादी केन्द्रमा फर्किएका थिए।

