काठमाडौं । मकवानपुरको मनहरीमा बाघले सातवटा खसी–बाख्रा मारेको छ ।
मनहरी गाउँपालिका वडा नं. ५ वसन्तपुरस्थित स्थानीय सूर्यबहादुर मोक्तानले पालेको खसी बाख्रा सोमबार बिहान ५ बजेको समयमा बाघले मारेको हो । मोक्तानको घर नजिकै रहेको बाख्राको खोरमा सातवटा खसी बाख्रा मारी सोही मध्ये एउटा बाख्रा बाघले जङ्गलतिर लगेको हो ।हिजो आइतबार साँझ मनहरी–५ मा बाघको आक्रमणबाट वसन्तपुरकी कान्छीमाया रुम्बाको मृत्यु भएको थियो । घर नजिकै बारीमा घाँस काट्न गएको अवस्थामा ७२ वर्षीया रुम्बालाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो ।घाँस काट्न गएकी रुम्बा,घर नर्फिएपछि खोजी गर्ने क्रममा बाघले वृद्धा रुम्बाको शरीर बोकेर हिँडेको गाउँलेले देखेका थिए ।
बाघलाई नियन्त्रणमा लिनका लागि पर्सा वन्यजन्तु आरक्षणबाट दुई वटा हात्ती, नेपाली सेनाका मेजर ढलकबहादुर मोक्तान र चितवन राष्ट्रिय निकुञ्जबाट टोली खटिएको छ ।

