काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सफल बनाउन अध्यादेश ल्याउनु परेको बताएका छन ।
सरकारले ल्याएका अध्यादेशबारे जानकारी दिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकार टिकाउन नभइ सरकारलाई सफल बनाउन अध्यादेश ल्याइएको जानकारी गराए । ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै साबधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको जानकारी दिए ।सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको उनको भनाई छ । अन्य विधेयकको तयारी भएको र संसद् सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने उनले बताए ।यथोचित समयमा संसद् आव्हान हुने पनि उनले जानकारी गराए । उनले भने –“हामी सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफै टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यी अध्यादेश यसरुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्तरुपमा प्रकट भएको छ । यो पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो । भूमीसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन । अध्यादेशको विरोध भयो भनेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो । यी सबै भ्रमहरु चिरिएका छन् ।
सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै हुन् ।”

