काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १२,बलम्वु आफैमा सास्कृतिक र ऐतिहासिक सम्पदाको धनी वडा हो ।
वडा क्षेत्रमा रहेका बिभिन्न मठ/मन्दिर,पाटी/पौवा, कला /संस्कृति,भाषा लगायतका सामाग्रीले यस तथ्यलाइ पुष्टि गरेको छ । वडा क्षेत्रमा बिभिन्न काल खण्डका ऐतिहासिक र सास्कृतिक सम्पदाको जर्गेना र पुनर्निमाण गर्दै आएको भएता पनि वडा कार्यालयको दैलैमा रहेको पिङ्गल क्षेत्रको धार्मीक र ऐतिहासिक पश्तर कलामा भने ध्यान जान नसक्दा ति सम्पदाहरु क्षिण बन्दै गएका छन । पिङ्गलमा स्थानीय, श्रेष्ठ र महर्जन थर भएकाहरुले बर्षमा एक पटक देवाली गर्ने गरेका छन ।

त्यसो त यहाँ स्थापना गरिएको श्रेष्ठ र महर्जनको कुल देवताको मन्दिर पहिले यहि रहेको खोलाको पारिपट्टी चिहान संगै रहेको स्थानीय बृद्धहरु बताउछन । पछि खोलाले मन्दिर रहेको स्थानमा क्षति पुर्याउदै गएपछि यस स्थानमा सारिएको बताइन्छ ।साथै पहिले कीर्तिपुरका मानन्धर थरका नेवाःहरुपनि यहि स्थानमा देवाली गर्न आउने प्रचलन रहेको र अहिले भने उनीहरुको कुल देवताको मुर्ति कीर्तिपुर अस्पताल संगैको चौरमा स्थापना गरेर पुजा गर्न थाले पछि पिङ्गलमा बलम्वुका श्रेष्ठ र महर्जनले बर्षमा कुल तिथी अनुसार एक पटक देवाली पुजा गरि भोज खाने गरेको स्थानीयले जानकारी दिए ।पश्थर कलामा समाहित मुर्तिहरु संरक्षणको अभावमा जिर्ण हुदै आकृति बिहिन बन्दै गएका छन भने पौरणिक इतिहास दर्शाउने शिलालेखको अक्षर पनि बिलाउदै गएका छन ।

साथै यहाँ भएको एक पाटी अहिले भग्नावशेषको रुपमा मात्र रहेको छ । पहिले कृषि कर्म गर्न गएका स्थानीयहरुले झरि पानी पर्दा यहि पाटीमा ओत लाग्ने गरेको बृद्ध बुर्जुकहरु बताउछन ।

वडा कार्यालयले बिभिन्न योजनाहरुमा लगानी गर्दै आएको भएपनि आफ्नै दैलो अगाडिको सास्कृतिक र ऐतिहासिक पिङ्गल भने किन प्राथमिकतामा नपरेको होला ? सो स्थानमा पुग्ने जो कोहि यहि प्रश्न गरिरहेका छन ।

