काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् ।

उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।२०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । त्यतिबेला माओवादीको पोलिटव्युरो सदस्य रहेका श्रेष्ठ १० वर्षपछि पुरानै घर फर्किंदा केन्द्रीय सचिव पद पाएका छन् । ललितपुरको ग्वार्कोस्थित एक ब्यांक्वेटमा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका हुन । उनले नेसपाका १७ जना केन्द्रीय कार्यकारिणी सदस्य,र ९९ जना केन्द्रीय समिति सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

पार्टी समायोजन सम्बन्धी भेलामा पाँच बुँदे निर्णय भएको हो ।त्यसमा श्रेष्ठलाई केन्द्रीय सचिव पद दिने र बाँकीलाई सम्माजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गर्ने लगायतका बुँदाहरु उल्लेख छन् ।प्रचण्ड र श्रेष्ठले हस्ताक्षर गरेको निर्णयमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख छ । पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी क्रान्तिको कार्यक्रम हुने छ । समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गर्ने र तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।

पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रीयताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई सञ्चालन गरिने गर्ने उल्लेख छ । साथै कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टीपंक्तिभित्र छलफल गर्न सकिने पनि उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय