काठमाडौं । नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन् ।
सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीका स्रोत सरसफाइ गर्दछन् । वर्षातको बेला बगेर आउने भेल र फोहर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु सिथि नखः पर्वको विशेषता हो ।सिथि नखः पर्व संगै वर्षा सुरु हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडका रूपमा पनि मनाइन्छ ।भगवान कुमारको जन्मदिनसमेत भएकाले यस दिन नेवार समुदायले कुमारको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारका पकवान बारा पकाएर खाने चलन छ ।
यस दिन बारा, चटामरी लगायत पकवान खानाले तागत बढ्ने र वर्षायाममा धानखेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ ।सिथि नखःको दिन किसानले खेतबारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता समेत छ ।

