काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्रमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रुपमा मनाइने भएको छ ।
चन्द्रागिरि नगर योग समिति,महिला पतञ्जली समिति चन्द्रागिरि र ॐ ऋषि योग साधना केन्द्रको आयोजनामा दिवस मनाइन लागेको हो । ११ औं अन्तर्राष्ट्रिय योग दिवसको । “एक पृथ्वी एक स्वास्थ्यको लागि योग“ भन्ने मुल नारा रहेको छ । प्रत्येक बर्ष २१ जुनका दिन यो दिवस मनाउने गरिन्छ ।असार ७ गते शनिबार, दिवस मनाउन अघि असार ६ गते बिहान आयोजकले प्रभातफेरी गर्न लागेको हो । चन्द्रागिरि –५ स्थित त्रिशक्ति व्याङक्वेट बाट बिहान ५ : ३० मा प्रभातफेरी सुरु हुनेछ । नगर क्षेत्रका किसिपिडी,दुरसंचार हुदै नगरपालिकाको भवन बलम्वु,हरियाली,सतुंगलबाट मातातीर्थमा पुगी प्रभातफेरी सम्पन्न हुने आयोजकले जानकारी दिएको हो । योग सम्बन्धी सचेतना फैलाउने र योग दिवस मनाउन योग जागरण गर्ने उद्देश्यका साथ प्रभातफेरी गर्न लागिएको योग गुरु पुरुषोत्तम पाठकले जानकारी दिनुभयो । कार्यक्रममा चन्द्रागिरि नगरपालिका र सिप्रदियन सहायता संस्थाले सहकार्य गरेका छन । पतञ्जलि योग पिठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल,पतञ्जलि योग समिति नेपाल, युवा योग समिति नेपाल लगायतका संस्था साथै योगप्रेमीहरु कार्यक्रममा सहभागी हुनेछन । साथै सम्पूर्ण नगरबासीलाई योग दिवस भव्य रुपमा मनाउनका लागि आयोजकले आव्हान समेत गरेको छ । चन्द्रागिरि नगर योग समितिले असार ७ गते बिहान ५ बजेदेखि चन्द्रागिरि –५ स्थित त्रिशक्ति व्याङक्वेटमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागेको हो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका हुन । प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

