काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार १२ कक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका छन् । बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५ सय २, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८ सय ९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २ सय ६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८ सय १२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९ सय ६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् । बोर्डका अनुसार ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८ सय ८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका हुन् ।
बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । गत वर्षभन्दा यो वर्ष नतिजा ९ प्रतिशतले वृद्धि भएको छ ।
परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

