काठमाडौं । भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकामा मङ्गलबार गएको बाढिपहिरोबाट धराली गाउँमा ठुलो धनजनको क्षति भएको थियो ।
सो बाढीपहिरोमा परी जाजरकोटका सात जनाको मृत्यु भएको हो । सो बाढीपहिरोमा परी कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये सात जनाको मृत्यु भएको हो भने अन्य ६ जना सम्पर्कविहीन रहेका छन् ।भारतको उत्तराखण्डमा ज्यालामजदुरी गर्न गएका कुशे गाउँपालिका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निमबहादुर सिंह, रविन सिंह र जुम्ला जिल्ला तातोपानी गाउँपालिका घर भई ससुरालीमा बस्दै आएका जनकबहादुर शाही, रुकुमपश्चिम घर भई ससुरालीमा बस्ने नाम नखुलेका एक व्यक्तिको मृत्यु भएको हो । भारतमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुशे गाउँपालिकाले नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
यता,प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावास मार्फत कूटनीतिक छलफल भएको जानकारी दिएका छन् ।शुक्रवार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर पाएको भन्दै उनीहरूको उद्धारको लागि दूतावास मार्फत कूटनीतिक छलफल भएको बताएका हुन् ।

