काठमाडौं । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को ६३ औं वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुसार काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये चन्द्रागिरि नगरपालिकाको बेरुजु रकमको अवस्था छैटौं स्थानमा देखिएको छ ।
बेरुजु रकम प्रतिशतको आधारमा चन्द्रागिरि छैटौं स्थानमा देखिएको हो । चन्द्रागिरिको आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड ७५ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको हो । यो रकम कुल लेखा परिक्षण रकमको १ दशमलव २३ प्रतिशत हुन आउछ । चन्द्रागिरि नगरपालिकामा १ अर्ब ९५ करोड ६० लाख ५४ हजार आम्दानी र १ अर्ब ९२ करोड ७३ लाख २३ हजार खर्च सहित कुल ३ अर्ब ८८ करोड ७७ लाख रुपैयाँको लेखा परिक्षण भएको हो ।
काठमाडौं जिल्लाका स्थानीय तहहरु मध्ये सबैभन्दा कम टोखा नगरपालिकाको बेरुजु रकम प्रतिशत रहेको छ । टोखामा बेरुजु रकमको अवस्था ० दशमलव ३७ प्रतिशत रहेको छ । टोखामा कुल २ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लेखा परिक्षण रकम रहेको छ ।
त्यस्तै,दोश्रो कममा शंङ्खरापुर नगरपालिकाको रहेको छ । यस पालिकामा ० दशमलव ४५ प्रतिशत बेरुजु रकम रहेको छ । शंङ्खरापुरमा कुल १ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ लेखा परिक्षण रकम रहेको छ ।
तेश्रोमा दक्षिणकाली नगरपालिका रहेको छ । यस पालिकामा ० दशमलव ६९ प्रतिशत बेरुजु रकम रहेको छ । दक्षिणकालीमा कुल १ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ लेखा परिक्षण रकम रहेको छ ।
चौथो स्थानमा कीर्तिपुर नगरपालिका रहेको छ । यस पालिकामा ० दशमलव ९ प्रतिशत बेरुजु रकम देखिएको हो । कीर्तिपुरमा कुल २ अर्ब ५५ करोड २१ लाख रुपैयाँ लेखा परिक्षण भएको हो ।
पाँचौ स्थानमा नागार्जुन नगरपालिका रहेको छ ।यस पालिकामा १ दशमदव १४ प्रतिशत बेरुजु रकम देखिएको हो । नागार्जुनमा कुल ३ अर्ब ६२ लाख रुपैयाँ लेखा परिक्षण भएको हो ।
सातौ स्थानमा कागेश्वरी मनोहरा नगरपालिका रहेको छ । यस पालिकामा १ दशमलव ७३ प्रतिशत बेरुजु रकम रहेको छ । यहाँ कुल ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँको लेखा परिक्षण भएको हो ।
आठौं स्थानमा वुढानीलकण्ठ नगरपालिका रहेको छ । यस पालिकामा २ दशमलव ०१ प्रतिशत बेरुजु रकम रहेको हो । यहाँ कुल ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँको लेखा परिक्षण भएको हो ।
काठमाडौं महानगरपालिका नवौं स्थानमा रहेको छ । महानगरको बेरुजु रकम २ दशमलव १९ प्रतिशत रहेको छ । यहाँ २८ अर्ब २९ करोड १३ लाख रुपैयाको लेखा परिक्षण भएको हो ।
दशौ स्थानमा गोकर्णेश्वर नगरपालिकाको २ दशमलव ३ प्रतिशत बेरुजु रकम रहेको हो । यस पालिकामा ३ अर्ब ४७ करोड रुपैयाँको लेखा परिक्षण भएको हो ।
काठमाडौं जिल्लाका स्थानीय तह मध्ये सबैभन्दा धेरै तारकेश्वर नगरपालिकाको ३ दशमलव ६ प्रतिशत बेरुजु रकम देखिएको हो । यस पालिकामा कुल ३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँको लेखा परिक्षण भएको हो ।

