काठमाडौं । मस्याङ्दी र कुलेखानी जलविद्युत परियोजनाबाट काठमाडौ ल्याईएको १३२ KB प्रसारण लाइनबाट पिडित भएकाहरुले संघीय सांसद कृष्ण गोपाल श्रेष्ठलाई ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएका छन । हाईटेन्सन पिडित संघर्ष समितिले बिहिबार बिहान श्रेष्ठलाइ ज्ञापनपत्र बुझाउदै हाईटेन्सन तारका कारण आफुले भोग्नुपरेको पिडा पोखेका हुन । बल्खु स्थित श्रेष्ठको निवासमा पुगेका पिडितहरुले आफ्ना मागहरु राज्यले सुन्ने र सम्बोधन गर्ने गरेर संघिय संसदको आउदो हिँउदे अधिबेशनमा बिषय उठान गर्न आग्रह गरेका हुन । समितिले,चन्द्रागिरि नगरपालिकाको नागढुंगा देखि स्युचाटार सम्म करिव ८ किलोमिटर र मच्छेगाऊँ सतुंगल स्युचाटार करिव १५ कि.मि.सव–स्टेसन साथै कुलेखानी प्रसारण लाइनका कारण पिडित भएका चन्द्रागिरि –८ मातातीर्थका हजारौं रोपनीका जग्गा र सयौं घर बिद्युत प्रधिकरणले हालेको हाइटेन्सन लाइनका कारण प्रभावित भएको भन्दै प्रधिकरणले निःशुल्क कब्जा गरेको जमिन हामीलाई फिर्ता गरी दिने पहल गरिदिन आग्रह गरेका हुन ।
सरकारले हाल्दियो हाईटेन्सनको तार,त्यही तारको वरपर सधै अन्धकार

पिडितहरुले हाइटेन्सन लाइन टाँग्नको कुनै सहमति नदिईएको साथै प्रभावित जमिनको मुआब्जा समेत नलिईएको बताएका छन ।तत्कालिन पञ्चायत प्रशासनले जग्गाधनीहरु माथी ज्याजती गर्दै जबरजस्ति जमिन माथिबाट तार लागेको सांसद श्रेक्ष्ठलाई जानकारी गराए ।
उनिहरुले सांसद श्रेष्ठलाइ व्यवस्था बदलियपनि पिडितको माग सुनुवाई गर्न राज्य उदासिन भएको भन्दै दुखेसो पोखे । हक स्वामित्वको जमिनमा हाइटेन्सनले गर्दा हाइटेन्सनको दायाँ ९ वायाँ ९ मिटर चौडाइको सम्म जमिन प्रयोग गर्न नपाएको, आफ्नै नामको जमिन आफ्नो नीजि प्रयोगमा नआएको, बैंक वित्तिय संस्थाले धितो स्वीकार नगर्ने, नक्सापास नगर्ने, घर बनाउन नपाउने, विद्युत मिटर समेत जडान गर्न नपाउने लगायतको कारण जमिन राज्यबाट लुटिएको भन्दै निःशर्त र निशुल्क जमिन फिर्ताहुनुपर्ने उनीहरुले माग गरेकाहुन ।
पिडितहरुले आफ्ना माग सम्बोधन गराइदिन आफ्नै जनप्रतिनिधीलाई गुहारेको बताए । संसद कृष्ण गोपाल श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष संसदमा विजयी भएका संघिय संसद हुन ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ अन्तरर्गत पर्ने चन्द्रागिरि नगरपालिकाका अधिकांश क्षेत्रमा हाइटेन्शन तारको जालो जस्तै बनेको छ । हाइटेन्शन तार लैजादा उक्त स्थानको जमिनको मुआब्जा समेत दिईएको छैन । ज्ञापनपत्र बुझ्दै सांसद श्रेष्ठले आफु पिडितहरुको पक्षमा रहेको बताउदै,आउदो संसद अधिबेशनमा पिडितहरुको कुरा उठाउने बताए ।

