काठमाडौं । स्थानीय तहको उपचुनावको मौन अवधि आज मध्यरातबाट लागू हुँदैछ ।
मौन अवधिअघि दल र नेता अन्तिम प्रचारमा जुटिरहेका छन् । मिसन ०८४ को अभियानमा रहेका ठूलादेखि नयाँ राजनीतिक दलहरूले मंसिर १६ लाई शक्ति परीक्षणसहित रणनीतिक रूपमा लिएका छन् ।मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदको निर्वाचनलाई राजनीतिक दलहरूले प्रतिष्ठाको रूपमा लिएर मैदानमा उत्रिएका छन् ।मुलत:शहरी क्षेत्रको जनमत कीर्तिपुरको मेयर, वडा नम्बर १ र ४ र काठमाडौं महानगरपालिकाका १६ को परिणामले प्रतिविम्बित गर्नेछ ।
कीर्तिपुर मेयरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । माओवादीका उम्मेदवार महर्जनलाई एकीकृत समाजवादीले पनि सघाएको छ । उनी गएको निर्वाचनमा तेस्रो भएका थिए ।तीन ठूला दलबाहेक स्वतन्त्र उम्मेदवार राजमान महर्जनको पनि राम्रो चर्चा छ ।
लामो समयदेखि सरसफाइ अभियन्ता रहेका महर्जनको पक्षमा धरानका मेयर हर्क साम्पाङले खुलेरै भोट मागेपछि उनको पक्षमा लहर देखिन थालेको समर्थकको दाबी छ ।०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित भएका थिए । त्यहाँ एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०८, माओवादीका शिवशरण महर्जनले ४ हजार ९०, एकीकृत समाजवादीका वटुकृष्ण थापाले १ हजार १५३, राप्रपाका जितबहादुर विष्टले ५७२ मत ल्याएका थिए ।
उपनिर्वाचनको केन्द्रबिन्दु भने अहिले कीर्तिपुर बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय