काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरीको काम आतंक मच्चाउँदै गरिबका ठेला पल्टाउने र तरकारी फाल्ने नरहेको बताएका छन् ।
मंगलबार ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ललितपुर महानगर प्रहरीको प्रशंसा गरे । उनले नगर प्रहरीलाई देख्दा जनताले सुरक्षित महसुस गर्न पाउनुपर्ने बताए ।‘ललितपुर नगर प्रहरीले गुर्र जीपमा कुदेर, अर्कै लोकको केही आएझैं गरेर कुदेर, झ्याप्प गाडी रोकेर, सिठ्ठी बजाउँदै, आतंक छाउँदै, ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै.. यस्तो गरेको मैले देखेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले जनताका लागि त्रास फिजाउने होइन । तपाईंहरूलाई देख्दा जनताले सुरक्षित महसुस गरुन् । तपाईंहरू जाँदा जनताले हाम्रा रक्षकहरू आए भन्ने ठान्नुपर्छ ।’प्रधानमन्त्री ओलीले नगर प्रहरी पुग्दा व्यवसायीलाई ‘लौ आयो, कता भागौं, के गरौं’ भन्ने हुन नहुने उल्लेख गरे ।‘कोही घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने, यस्तो अवस्था नहोस् । हामी जनताका सेवक हौं । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीभित्र घमण्ड पस्नु हुँदैन ।
तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटोमा तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’

