काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ ले वडा क्षेत्रमा रहेका ऐतिहासिक ढुंगे धाराको संरक्षण र सौन्दर्यकरणलाई तिब्रता दिएको छ ।
वडा क्षेत्रमा रहेको गुरा हिति संरक्षणमा वडाले सक्रियता देखाएको हो । वडाले थानकोटका स्थानिय बासिन्दाले प्रयोग गर्ने ९ वटा सार्वजनिक ढुंगे धारा (गुरा हिति) संरक्षणमा चासो देखाएको हो ।साविक थानकोट गाउ बिकास समिति वडा नम्बर ८ हाल चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ गणेश थानमा रहेको हिति र चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा रहेको सिलाफल धारा,ताफल धारा,बुङ्गचा हिति,गह्छः हिति,नसिम्चा हिति,सयगाँउ हिति,र नासः हिति संरक्षणमा वडा सक्रिय भएको हो । पहिले पहिले ति सबै धारामा मुहानको पानी आउथ्यो,बढदो शहरिकरणको नाममा पछिल्लो समय ति धाराहरुमा पानी आउन छोडेपछि जिर्ण बन्दै गएको थियो ।यि ९ वटै ढुंगे धाराहरु पूर्व दिशामा फर्किएका छन । पौराणिक महत्व बोकेका यस्ता ऐतिहासिक धाराहरुको संरक्षण गरि पुस्तान्तरण गर्नुपर्ने भावनाका साथ चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ ले गुरा हितिको पूर्ण जिर्णोद्वार र सौन्दर्यकरण गरेको हो । वडाले मुहानको संरक्षण गरि ९ वटै सार्वजनिक धारा (गुरा हिति)मा चौबिसै घण्टा पानी आउने ब्यवस्था मिलाउने भएको हो । मुहान संरक्षणका लागि वडाले बिभिन्न आर्थीक वर्षमा १३ लाख रुपैयाँ बजेट बिनियोजन गरि कार्य गर्दै आएको र २ महिना भित्र सबै धारामा मुहानको पानी संचालनमा आउने वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिए ।
बोरिङ्ग गरि,मुहानको पानी सुकाई, पानी व्यबसाय संचालन भइरहेको चन्द्रागिरिका कतिपय वडाहरुका लागि चन्द्रागिरि –४को यो अभियानले मुहान संरक्षण र ऐतिहासिक धाराको जर्गेना गर्दै मुलबाटै पानी ल्याई सार्वजनिक धारा संचालन गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।

